धितोपत्र बोर्डले लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न नहुनेगरी काम गर्नुपर्छ

Home / News / धितोपत्र बोर्डले लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न नहुनेगरी काम गर्नुपर्छ
धितोपत्र बोर्डले लगानीकर्तामा मनोवैज्ञानिक त्रास उत्पन्न नहुनेगरी काम गर्नुपर्छ

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरूको नामसहित प्रकाशित गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
व्यक्ति एवम् समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरूको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र मूल्याङ्कन गरी प्रचलित नियमानुसार कार्य नगरेको र संस्थागत सुशासन कायम नगरेको प्रमाणित भएमा आन्तरिक रूपमा सचेत गराउनु वा कारबाही गर्नु बोर्डको दायित्व र जिम्मेवारी हुने परिसंघले भनेको छ । “सम्बन्धित संस्थाहरूको आर्थिक विष्लेषण गरी लगानी सम्बन्धी सूचनामूलक जानकारी उपलब्ध गराउनुका साथै समय–समयमा आम लगानीकर्ताहरूलाई अभिमूखिकरण कार्यक्रम आयोजना गर्नुपर्दछ । साथै, संस्थागत पहिचान र प्रतिष्ठामाथि आँच नपुग्ने र लाखौ लगानीकर्ताहरूमा मनोवैज्ञानिक त्रास उत्पन्न नहुने गरी बोर्डले कामकारबाही अगाडि बढाउँदा समग्र लगानीकर्ताहरूको हित हुनेछ,” जारी विज्ञप्तिमा भनिएको छ ।
बोर्ड सम्बन्धित लगानीकर्ताहरूको अभिभावकीय संस्था र सूचीकृत संस्थाहरूको नियामक निकाय रहेको भन्दै धितोपत्र बजारको बृहत्तर सुधार, विकास एवम् विस्तारका लागि सम्बधित सबै सरोकारवाला संस्था र सम्बन्धित पक्षहरूलाई साथ लिँदै बोर्डले अग्रगामी पाइला चाल्दै जानेछ भन्नेमा अपेक्षा गरेको परिसंघले जनाएको छ ।