योजना आयोग उपाध्यक्ष डा. भट्टसँग सिबिफिन प्रतिनिधिमण्डलको बधाई भेट

योजना आयोग उपाध्यक्ष डा. भट्टसँग सिबिफिन प्रतिनिधिमण्डलको बधाई भेट

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका नवनियुक्त माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसमक्ष यही वैशाख ४ गते शुक्रबार सिंहदरबारमा भेटघाट गरी हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बधाई भेटमा सिबिफिन प्रतिनिधि मण्डलले उपाध्यक्ष डा. भट्टसँग समसामयिक आर्थिक परिवेश र समग्र बैंकिङ क्षेत्रको विषयमा सघन छलफलसमेत गरेको छ ।

भेटमा सिबिफिन अध्यक्ष श्रेष्ठले सिबिफिनले गर्दै आएका कामहरुबारे जानकारी गराउँदै राष्ट्रिय अर्थतन्त्रको विकासमा सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थामा जम्मा भएको रकमलाई राष्ट्र विकासमा लगाउन र समग्र विकासमा बैंकिङ क्षेत्रमा रहेको पूँजी प्रयोग गर्न सकिने मत उहाँको थियो ।

सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता राजेश उपाध्यायले तरलता व्यवस्थापनमा नयाँ विकल्पहरु खोज्नुपर्ने तथा बैंकहरुले कमाउने बाटोहरु सीमित भएकाले विकल्पहरु खुला राख्नुपर्ने धारणा राख्दै अध्ययन, अनुसन्धान तथा नीतिगत रुपमा सिबिफिन र आयोगको सहकार्यमा जोड दिनुभयो ।

सिबिफिन कोषाध्यक्ष रमण नेपालले सरकारी कोष तथा बैंक तथा वित्तीय क्षेत्रको सहकार्यमा सम्पत्ति व्यवस्थापन कम्पनी छिटो ल्याउनुपर्नेमा जोड दिँदै राष्ट्र बैंकको नीतिमा एकरुपता हुनुपर्ने धारणा राख्नुभयो । यस्तै, सहकोषाध्यक्ष दिलिप मुनंकर्मीले राष्ट्र बैंक र सरकारको नीतिका कारण बैंकहरुको ऋण दिने क्षमतामा कर्मी आएको भन्दै प्राथमिक पुँजी कोषको दबाब घटाएर एनपिएमा अन्तर्राष्ट्रिय मापदण्डको प्रोभिजनमा जानुपर्ने बताउनुभयो ।

सिबिफिनका महानिर्देशक रोशन कोइरालाले बैंक तथा वित्तीय संस्थाको सेयर प्रतिफल न्यून रहेको, संस्थापक र साधारण सेयरबीच समूहगत विभेद रहेको जानकारी गारउँदै बाफियामा प्रस्तावित बैंकर र व्यवसायी छुट्याउनका लागि विकल्पहरु दिनुपर्ने मत राख्नुभयो ।

सिबिफिनका सरोकार सुनेपछि नवनियुक्त उपाध्यक्ष डा. भट्टले सिबिफिनले उठाएका विषयको सम्बोधनसहित अर्थतन्त्रको डेडलक खुलाउन आफू गम्भीर भएर लागेको बताउनुभयो । सरकारी नीतिमा बजेटमार्फत र मौद्रिक नीतिमार्फत आवश्यक सम्बोधन हुने बताउँदै उहाँले सम्पत्ति व्यवस्थापन कम्पनी समयसीमासहित आउनुपर्ने धारणा राख्नुभयो । लगानीकर्तालाई प्रोत्साहन गर्दै सरकारले बैंकिङमा थुप्रिएको पैसा ऋण लिएर विकासमा खर्च गर्ने उहाँले विश्वास दिलाउनुभयो ।