नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनुभएका डा. विश्वनाथ पौडेलज्यूसमक्ष मिति २०८२ जेठ १२ गतेका दिन भेटघाट गरी सिबिफिनको तर्फबाट अध्यक्ष श्री उपेन्द्र पौडेलज्यूको नेतृत्वको सिबिफिन टोलीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
उक्त भेटघाटका क्रममा अध्यक्ष पौडेलज्यूले नेपालको बैंकिङ क्षेत्र इतिहासकै कठिन मोडमा उभिरहेको बेला आर्थिक एवं बैंकिङ क्षेत्रलाई निकै नजिकबाट नियाल्दै आउनुभएका, अर्थशास्त्रसहित कृषिस्रोत, स्रोत व्यवस्थापन, श्रम अर्थतन्त्र र आर्थिक इतिहासका ज्ञाता राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण निकाय तथा संघसंस्थाहरुको उच्च पदमा रही कुशल कार्यक्षमता र नेतृत्व प्रदान गर्नुभएका काविल व्यक्तित्वलाई गभर्नरको रुपमा पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । उहाँले मुलुकको पछिल्लो बैंकिङ अवस्था, समस्या एवं चुनौती र अवलम्बन गरिनुपर्ने नीतिगत पहल, अर्थ समितिमा छलफलमा रहेको बाफिया विधयेकमा प्रस्तावित प्रावधानहरुले पार्ने दीर्घकालीन असर तथा नेपाल राष्ट्र बैंकबाट हुनुपर्ने आवश्यक सहजीकरणका विषयमा नवनियुक्त गभर्नरज्यूको ध्यानाकर्षण गराउनुभएको थियो ।
त्यसैगरी अध्यक्ष पौडेलले समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको वस्तुनिष्ठ अवस्था, व्यवस्था, आवश्यकता र अपेक्षालाई केन्द्रविन्दुमा राखेर सहभागितामूलक छलफल तथा संवाद, अध्ययन–अनुसन्धान, मूल्याङ्कनसहित आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार एवं दिगो विकास र समृद्ध अर्थतन्त्रको निर्माणमा उन्मूख गराउन श्रीमान् गभर्नरज्यूबाट हौसलासहितको सहयोग, सुझाव तथा सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गर्नुभएको थियो ।
नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलज्यूले सिबिफिनको टोलीबाट व्यक्त बधाई तथा शुभकामनासहित बैंकिङ क्षेत्रका समयसामयिक विषयहरुमाथि भएको ब्रिफिङप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो । साथै, उहाँले बैंकिङ क्षेत्रको अग्रणी संस्थाको रुपमा भूमिका र योगदान पु¥याउँदै आएको सिबिफिनसँग आफू विगतदेखि नै जोडिदै आएको स्मरण गर्दै सिबिफिन जस्तो मुख्य सरोकारवाला संस्थासँग राष्ट्र बैंक सदैव सम्पर्कमा रहने जानकारी गराउँदै आवश्यक समन्वय तथा सहकार्य गर्ने सन्देश व्यक्त गर्नुभएको थियो ।
गभर्नरको कार्यालय, बालुवाटारमा सम्पन्न उक्त भेटघाटमा सिबिफिनबाट उपाध्यक्ष कुशप्रसाद मल्ली, महासचिव प्रचण्डबहादुर श्रेष्ठ, सचिव थानेश्वर पौडेल, सहकोषाध्यक्ष गौरव बुढाथोकी, सदस्यहरु मनोज कुमार गोयल, रमण नेपाल, चिन्तामणी भट्टराई, राजाराम खड्का, महानिर्देशक रोशन कोइरालालगायतको सहभागिता रहेको थियो ।
