अर्थमन्त्री डा. वाग्लेसँग सिबिफिन प्रतिनिधिमण्डलको बधाई भेट, कानुनी सुधारको प्रतिवद्धता

अर्थमन्त्री डा. वाग्लेसँग सिबिफिन प्रतिनिधिमण्डलको बधाई भेट, कानुनी सुधारको प्रतिवद्धता

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष यही चैत २६ गते बुधबार सिंहदरबारमा भेटघाट गरी हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बधाई भेटमा सिबिफिन प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. वाग्लेसँग वर्तमान आर्थिक अवस्था, सरकारी अर्थनीति र समग्र बैंकिङ क्षेत्रको विषयमा सघन छलफलसमेत गरेको छ ।

सिबिफिन अध्यक्ष श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रको समग्र विकासमा वित्तीय क्षेत्र मेरुदण्डको रुपमा रहेको भन्दै देश विकासमा हातेमालो गर्न बैंक तथा वित्तीय संस्थाहरु तयार रहेको जानकारी गारउनुभयो । आगामी बजेटमार्फत बैंक तथा वित्तीय क्षेत्रलाई साथमा लिएर तीव्र आर्थिक वृद्धि सम्भव रहेको उहाँले धारणा राख्नुभयो ।

सिबिफिनका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले सिबिफिनको बारेमा संक्षिप्त जानकारी दिँदै संस्थाले गरिरहेको अध्ययन, अनुसन्धानको विषयमा प्रकाश पार्नुभयो । बाफियासहितका कानुनमा बृहत सुधारको आवश्यकता औँल्याउँदै उहाँले संस्थापक र साधारण सेयर, एनबिए, जग्गा हदबन्दी, करमा भएको विभेदलगायतका विषयमा ध्यानाकर्षण गराउनुभयो । डिजिटल बैंकिङमा अहिले नै बैंक तथा वित्तीय संस्थाहरुको करिब ७ खर्ब लगानी भइसकेकाले नयाँ डिजिटल बैंक ल्याउनुभन्दा यसैलाई थप व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो ।

सिबिफिनका महासचिव मनोज कुमार गोयलले सरकारले हेजिङ नीतिमार्फत विदेशी प्रत्येक्ष लगानी ल्याउन प्रोत्साहनसहित बाटो खोल्नुपर्ने धारणा राख्नुभयो । कार्यसमिति सदस्य राधेश पन्तले सम्पत्ति व्यवस्थापन कम्पनी अत्यावश्यक रहेकाले यसबारे शिघ्र निर्णयको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले उत्पादन र नवप्रवर्तनमा केन्द्रित रहेर सिबिफिनले निकट भविष्यमा गर्न लागेको बैंकिङ समिटबारे जानकारी गराउँदै उक्त समिटमा सरकारी सहभागिता र सहयोगका लागि अनुरोध गर्नुभयो ।

सिबिफिनका सरोकार सुनेपछि अर्थमन्त्री डा. वाग्लेले सिबिफिनले उठाएका विषयको सम्बोधनसहित आगामी बजेटमार्फत विशेष घोषणाहरु गरिने जानकारी दिनुभयो । आर्थिक सुशासनमा केन्द्रित भएर सबै क्षेत्रमा सुधारका योजनाहरु बजेटमा राखिने र संरचनागत बेमेलहरुलाई सुधार गरिने उहाँले बताउनुभयो । बैंक तथा वित्तीय क्षेत्रलई आन्तरिक सुशासनमा केन्द्रित हुन आग्रह गर्दै उहाँले सम्पत्ति व्यवस्थापन कम्पनीसहितका नीतिगत व्यवस्थाका लागि आवश्यक ऐन, कानुन बनाउन सिबिफिनको सहयोगको अपेक्षासमेत राख्नुभयो ।

अर्थ मन्त्रालयमा सम्पन्न छलफल भेटमा सिबिफिनका उपाध्यक्ष दिलिप मुनंकर्मी, कोषाध्यक्ष रमण नेपाल, सहकोषाध्यक्ष लक्ष्मी प्रसाद महर्जन, कार्यसमिति सदस्यहरु राधेश पन्त, चिन्तामणि भट्टराई र महानिर्देशक रोशन कोइरालालगायतको सहभागिता रहेको थियो ।