सिबिफिन र वरिष्ठ अधिवक्ता एवं कानुनविदहरुवीचको छलफल तथा अन्तरक्रिया सम्पन्न

सिबिफिन र वरिष्ठ अधिवक्ता एवं कानुनविदहरुवीचको छलफल तथा अन्तरक्रिया सम्पन्न

काठमाडौं । फाल्गुण ४, बैक तथा वित्तिय संस्था परिसंघ, नेपाल (सिबिफिन), को पदाधिकारी, सदस्यहरु तथा वरिष्ठ अधिवक्ता एवं कानुनविद्हरुवीचको छलफल तथा अन्तरक्रिया बैंठक मिति २०७८ फाल्गुण ४ गते, बुधवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा सम्पन्न भयो ।वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, अधिवक्ता श्री बालकृष्ण ढकालसहित प्रतिष्ठित वाणिज्य बैंकहरुमा कानुन विभाग प्रमुखकोरुपमा कार्यरत वरिष्ठ कानुनविद्हरुको सहभागिता रहेको उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा ४ मा उल्लेखित पूँजीबजार र बैंकिङ लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी राष्ट्र बैंकको स्वीकृतिमा संस्थापक शेयरलाई क्रमशः सर्वसाधारण शेयरमा रुपान्तरण गर्न सक्नेछ भन्ने प्रावधानमाथि छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहले उपस्थित वरिष्ठ अधिवक्ता एवं कानुनविद्हरुलाई सिबिफिनको कार्यालयमा स्वागत गर्दै, बैंठक आयोजना गर्नुको उद्देश्य र आवश्यकतामाथि प्रकाश पार्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ११.४ को कार्यान्वयनका विषयमा वरिष्ठ अधिवक्ता एवं कानुविद्हरुको रायसुझावका लागि आग्रह गर्नुभएको थियो ।
छलफलका क्रममा ऐनको दफा ११.४ ले कायम रहेको ५१ प्रतिशतलाई पनि क्रमशः सर्वसाधारण शेयरमा परिणत गर्न सकिने स्पष्ट किटान गरेको तर नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन २०७८ को नियम नं १५ ले ५१ प्रतिशत कायम गरी बाँकी शेयरलाई मात्र सर्वसाधारण शेयरमा परिणत गर्न सकिने व्याख्या गरेकोले ऐनको मर्मसँग निर्देशनको व्याख्या बाझिएको विषयमा वरिष्ठ अधिवक्ता तथा कानुनविद्हरुको मतैक्य रहेको थियो ।

त्यसैगरी ऐनको दफा ११.४ लाई कायान्वयन गर्नका लागि पहल गर्नुपूर्व उक्त दफा कार्यान्वयन नहुँदा र भएपछि पूँजीबजार र वित्तीय क्षेत्रमा पर्ने सकारात्मक एवं नकारात्मक प्रभावहरु स्पष्टरुपमा औल्याउनुपर्नेमा कानुनविद्हरुले जोड दिनुभएको थियो ।
सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले जुम तथा भौतिकरुपमा सहभागी भइ महत्वपूर्ण रायसुझाव प्रदान गर्नुहुने सिबिफिनका पदाधिकारी, सदस्य तथा वरिष्ठ कानुनविद्हरुलाई विशेष धन्यवादन ज्ञापन गर्दै बैंठक समापन गर्नुभयो ।