सिबिफिन र वरिष्ठ अधिवक्ता श्री शम्भु थापावीच भेटघाट तथा छलफल

सिबिफिन र वरिष्ठ अधिवक्ता श्री शम्भु थापावीच भेटघाट तथा छलफल

काठमाठौं । फाल्गुण १– बैक तथा वित्तिय संस्था परिसंघ, नेपाल (सिबिफिन) का पदाधिकारी तथा वरिष्ठ अधिवक्ता श्री शम्भु थापावीचको भेटघाट तथा छलफल बैंठक मिति २०७८ फाल्गुण १ गते, आइतवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा सम्पन्न भयोे ।

बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा कानुनी परामर्शका लागि निमन्त्रित वरिष्ठ अधिवक्ता श्री शम्भु थापालाई सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाह, महासचिव श्री केशवबहादुर रायमाझी कोषाध्यक्ष श्री तुल्सीराम अग्रवाल, सचिव श्री कुशप्रसाद मल्ली र महानिर्देशक श्री गोपालप्रसाद तिवारीले स्वागत गर्नुभएको थियो ।
उक्त बैंठकमा विशेषतः बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को ४ मा व्यवस्था भए बमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्ने विषयमा छलफल गरिएको थियो ।
वरिष्ठ अधिवक्ता थापाले यो विषयमा आफूले पहिल्यैदेखि नै चासोका साथ हेरिरहेको र आम संस्थापक लगानीकर्ताहरुको चासो र चिन्तनको विषय बनिरहेको बताउनुभयो । वहाँले भन्नुभयो, “बैंक तथा वित्तीय संस्थाले कारोबार शुरु गरेको १० वर्षपछि पूँजीबजार र समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई विचार गरी संस्थापक शेयरलाई क्रमशः सर्वसाधारण शेयरमा परिणत गर्न सक्नेछ भन्नुको अर्थ १० वर्षपछि एकै प्रकारको शेयर हुने परिकल्पना गरिएको हो ।”
जुममार्फत जोडिनुभएका सिबिफिनका कोषाध्यक्ष श्री तुल्सीराम अग्रवालले संस्थापक र सर्वसाधारण शेयर गरी दुई किसिमको शेयरको व्यवस्था नेपालबाहेक कुनैपनि देशमा लागू नभएको र विश्व बैकिङ क्षेत्रमा संस्थापक सेयर तथा सर्वसाधारणको शेयरमा फरक व्यवस्था नगरी समानता कायम गरिसकिएको बताउनुभयो ।

त्यसैक्रममा सिबिफिनका महासचिव श्री केशवबहादुर रायमाझीले आफ्ना धारणाहरु प्रस्तुत गर्दै उक्त विषयको कार्यान्वयनका विषयमा वरिष्ठ अधिवक्तासँग जिज्ञासा राख्नुभएको थियो ।
सोही अवसरमा वरिष्ठ उपाध्यक्ष श्री भोजबहादुर शाहले भन्नुभयो, “संस्थापक लगानीकर्ताले नै ठूलो लगानी लगाउने तथा व्यवहारिक एवं कानुनी जोखिम पनि बहन गर्नुपर्ने तर दोस्रो दर्जाको नागरिकसरह सामान्य सुविधाबाट पनि वञ्चित हुनुपर्ने विषय सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताको लागि चिन्ताको विषय बनिरहेको बताउँदै, यस विषयमा आन्तरिकरुपमा समेत घनिभूत छलफल गर्ने र कानुनी परामर्श लिने कार्यलाई समेत प्राथमिकताका साथ आगाडि बढाइनेछ ।”
वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहको अध्यक्षतामा प्रारम्भ भएको उक्त बैंठकमा अध्यक्ष श्री पवनकुमार गोल्यानले समेत वरिष्ठ अधिवक्ता श्री शम्भु थापासँग संक्षिप्त छलफल गर्नुभएको थियो ।