सिबिफिन र कर्मभूमि समाजवीच छलफल बैंठक सम्पन्न

सिबिफिन र कर्मभूमि समाजवीच छलफल बैंठक सम्पन्न

काठमाडौं । सिबिफिन र कर्मभूमि समाजवीच मिति २०७८ फाल्गुण १२ गते, सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालय, सिंहदरबारमा द्विपक्षीय बैंठक सम्पन्न भएको थियो ।
यस बैंठकमा सिबिफिन र कर्मभूमि समाजवीच भएको समझादारीको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा केन्द्रित भएको उक्त बैंठकले नयाँ उद्यमी तथा स्वउद्यमशीलताको विकास एवं विस्तार, घरेलु, साना तथा मझौला उद्योगको स्थापना तथा प्रवद्र्धन, सुरक्षित लगानीका नयाँ क्षेत्रहरुको पहिचान तथा लगानी विस्तार, रोजगारी तथा उत्पादकत्वमा वृद्धि, स्वदेशी उत्पादनको प्रवद्र्धन तथा निर्यातसँगै आयात प्रतिस्थापनलगायतका विषयहरुमा समेत घनिभूत छलफल भएकोे थियो ।
युवा तथा महिला उद्यमी र उद्यमशीलताको विकास एवं विस्तार गर्नका लागि विभिन्न निकायमा संचालित विभिन्न योजनाहरु (प्रधानमन्त्री स्वरोजगार कोष, युवा स्वरोजगार कोषलगायत सोही प्रकृतिका अन्य निकायहरुमा रहेका कोषहरु) मा रहेको पूँजीको उचित सदुपयोग गर्नका लागि एक उच्चस्तरीय संयन्त्रको गठन गर्ने बहस चलिरहेको सन्दर्भमा उक्त संयन्त्रमा कर्मभूमि समाज र सिबिफिन समेतको प्रतिनिधित्व हुने व्यवस्थाका विषयमा समेत छलफल भएको थियो ।
छलफलका क्रममा सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले नेपालको आर्थिक क्षेत्रमा हाल देखिएका विभिन्न आर्थिक सूचकाङ्कहरुको अवस्था र बैंकिङ क्षेत्रमा देखिएका विभिन्न समस्या एवं चूनौतिहरुको वारेमा चर्चा गर्दै बैकिङ क्षेत्रको सुधार, आर्थिक रुपान्तरण, आत्मनिर्भर एवं निर्यातमूखी अर्थतन्त्र निर्माणका लागि अबलम्वन गरिनुपर्ने विषयहरुका वारेमा संस्थागत धारणाहरु लिखित एवं मौखिकरुपमा राख्नुभएको थियो ।
त्यसैगरी कर्मभूमि समाजका संयोजक माननीय विनोदकुमार चौधरीले राष्ट्रको आर्थिक समृद्धिका वारेमा २०४६ सालदेखि निरन्तर बहस भइरहेको भएतापति सामूहिक प्रयास नभएकाले समग्र आर्थिक विकासका लागि अब सरकार, निजी क्षेत्र र समुदायको संयुक्त सहकार्य अपरिहार्य बनेको बताउनुभयो ।
माननीय राज्यमन्त्री उमेश श्रेष्ठको संयोजनमा सम्पन्न भएको उक्त बैंठकमा प्रधानमन्त्री कार्यालयका उच्च पदस्थ अधिकारीहरु, सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाह, महासचिव श्री केशवबहादुर रायमाझी, सदस्यद्वय श्री दशरथ रिसाल, श्री महेन्द्रकुमार गोयल, महानिर्देशक श्री गोपाल प्रसाद तिवारी र कर्मभूमि समाजका सदस्य सचिव श्री राजु नेपाल, प्रमुख कार्यकारी अधिकृत श्री योगराज कंडेल शर्मालगायतको सहभागिता रहेको थियो ।