सिबिफिन र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिविविवीच समझादारी पत्रमा हस्ताक्षर

सिबिफिन र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिविविवीच समझादारी पत्रमा हस्ताक्षर

काठमाडौं । फाल्गुण ५ – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयवीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्न मिति २०७८ फाल्गुण ५ गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।सिबिफिनको कार्यालयमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा सिबिफिनकोतर्फबाट अध्यक्ष श्री पवनकुमार गोल्यान र त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागकोतर्फबाट विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले नौं बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
समझदारी पत्रमा उल्लेख गरिए अनुसार अर्थशास्त्र केन्द्रीय विभागमा स्नात्तकोत्तर र एमफिल स्तरमा अध्ययनरत विद्यार्थीहरुमध्ये छनोट भएका विद्यार्थीहरुले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गरी शोधपत्र तयार गर्दा लाग्ने केही खर्च व्यहोर्ने गरी “सिबिफिन फेलोसिप” प्रदान गरिने भएको छ । तर, उक्त फेलोसिप अन्तर्गतको रकम प्राप्त गर्न सम्बन्धित विद्यार्थीहरुले तयार गरेको शोधपत्र अर्थशास्त्र केन्दीय विभागमार्फत स्वीकृत भएको हुनुपर्ने जनाइएको छ ।
त्यसैगरी, नीति अध्ययन तथा अनुसन्धानका लागि सिबिफिनकोतर्फबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महानिर्देशक, अर्थशास्त्र केन्द्रिय विभागकोतर्फबाट विभागीय प्रमुख एवं एक जना विभागीय प्रतिनिधि, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंककोतर्फबाट एक÷एक जना उच्च पदस्थ अधिकारी रहने गरी एक उच्चस्तरीय संयन्त्र गठन गर्ने र उक्त संयन्त्रमार्फत नीति अध्ययन तथा अनुसन्धानको कार्य अगाडि बढाइने समझादारी पत्रमा जनाइएको छ ।
हस्ताक्षर कार्यक्रमपछि बोल्दै सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले भन्नुभयो, “सिबिफिनको मुख्य उद्देश्य नै सरोकारवाला निकाय र पक्षहरुसँग सहकार्य गरी नीतिगत विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन नियामक निकायमा पेश गरी कार्यान्वयनका लागि पहल गर्नु र राष्ट्र एवं जनताको हित एवं संमृद्धिका विषयमा नियामक निकाय र सरोकारवाला पक्षहरुसँग सहकार्य गरी अगाडि बढ्नु हो । त्यसैले यस्ता कार्यहरुमा सिबिफिन निरन्तर लागिरहनेछ ।”
त्यसैगरी अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा शिवराज अधिकारीले नेपालको शैक्षिक क्षेत्रलाई अध्ययनबाट अनुसन्धान केन्द्रमा स्थापित गर्न सिबिफिनले थालेको यस्ता महत्वपूर्ण पहलको प्रसंशा गर्दै आभार व्यक्त गर्नुभयो । नीतिगत अध्ययन तथा अनुसन्धानका लागि सहकार्य गर्नका लागि समझदारी पत्रमा उठान गरिएका विषयहरु अत्यन्तै सान्दर्भिक रहेकोले विभागले उक्त कार्यमा सहमती जनाइ समझदारी गरेको बताउनुभयो । सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाह, उपाध्यक्ष श्री राजेश उपाध्याय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी, सह–प्राध्यापक डा. रमेशचन्द्र पौडेल र सिबिफिनका महानिर्देशक श्री गोपालप्रसाद तिवारीको उपस्थिति रहेको उक्त हस्ताक्षर कार्यक्रममा सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै, समझदारी पत्रले त्रिभुवन विश्विद्यालय, अर्थशास्त्र केन्दीय विभाग र परिसंघकावीचमा अध्ययन तथा अनुसन्धानका क्षेत्रमा सहकार्यका लागि नौलो आयामको ढोका खोलेको बताउँदै यसको मर्म र भावना अनुसार प्रभावकारी कायान्वयनका लागि आग्रह गर्नुभएको थियो ।