‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने

‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गरिने

भाद्र १६ गते, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को आर्थिक सहयोगमा ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको छ । नाफिजका अध्यक्ष श्री मोदनाथ ढकाल र सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले बिहीबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो भने सिबिफिन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुको छाता संस्था हो । दुई संस्थाले बैंकिङ बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गर्ने भएका हुन् । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्नेछ ।
यो वर्षको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ भदौ ३१ गते नाफिज वार्षिकोत्सवको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ ।दुई संस्थाले भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्नेतर्फ प्रयासरत रहने पनि बताएका छन् ।सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले सिबिफिन बैंक तथा वित्तीय संस्थामात्र नभएर समस्त अर्थतन्त्रको हितमा काम गर्न स्थापना भएको जानकारी दिनुभयो । उहाँले सिबिफिन नाफिज बैंकिङ पत्रकारिता पुरस्कारको घोषणासँगै आर्थिक पत्रकारलाई आर्थिक घटनाक्रम तथा विषयवस्तुलाई सबल, निष्पक्ष, खोजमुलक, प्रभावकारी तथा तार्किक निचोड दिन हौसला मिल्ने दाबी गर्नुभयो । गोल्यानले नाफिजसँगको सहकार्यलाई भविष्यमा अझै मजबुद बनाउँदै पुरस्कारलाई निरन्तरता दिन अक्षय कोष खडा गर्न सकिने आशा व्यक्त गर्नुभयो ।

सो अवसरमा नाफिजका अध्यक्ष श्री मोदनाथ ढकालले पत्रकारितालाई प्रतिस्पर्धी बनाउन तथा खोजमुलक पत्रकारिता प्रबद्र्धन गर्न पुरस्कारले ठूलो भुमिका खेल्ने उल्लेख गर्नुभयो । अर्थतन्त्रमा मिडियाको भुमिका निजी क्षेत्रको प्रबद्र्धन सँगै लगानीको वातावरण बनाउँदै आर्थिक वृद्धिमा टेवा दिने भएको जिकिर गर्दै उहाँले समाचारको गुणस्तर र पत्रकारहरुको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कारले महत्वपूर्ण खेल्ने बताउनुभयो ।

हस्ताक्षर समारोहमा सिबिफिनका वरिष्ठ उपाध्यक्ष श्री भोजबहादुर शाह, उपाध्यक्ष श्री राजेश उपाध्याय, महासचिव श्री केशव बहादुर रायमाझी, कोषाध्यक्ष श्री तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली र महानिर्देशक डा. गोपालप्रसाद तिवारी तथा नाफिजका महासचिव श्री नारायणप्रसाद पौडेल र कार्यसमिति सदस्यद्वय श्री दीपक भट्ट तथा श्री रोविन पौडेलको पनि उपस्थिति रहेको थियो ।