सिबिफिनद्वारा राष्ट्र बैंकका गभर्नरलाई सम्मान तथा अध्ययन प्रतिवेदन पेश

सिबिफिनद्वारा राष्ट्र बैंकका गभर्नरलाई सम्मान तथा अध्ययन प्रतिवेदन पेश

पौष १३, काठमान्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीज्यूलाई 42nd SAARCFINANCE Governors’ Group Meeting ले SAARCEFINANCE को अध्यक्ष पदमा चयन हुनुभएको  सुखद अवसरमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पदाधिकारीज्यूहरुको टोलीले मिति २०७८ पौष १३ गते, गभर्नरज्यूकै कार्यकक्षमा भेटघाट गरी बधाई तथा शुभकामना व्यक्त गरेको थियो ।

सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष श्री भोजबहादुर शाह, उपाध्यक्ष श्री राजेश उपाध्याय, महासचिव श्री केशवबहादुर रायमाझी, समृद्धी फाइनान्सका अध्यक्ष श्री विनोदकुमार सुवेदी र सिबिफिनका महानिर्देशक श्री गोपालप्रसाद तिवारीसहितको प्रतिनिधि मण्डलले गभर्नरज्यूलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

सोही अवसरमा सिबिफिनले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक  तथा वित्तीय संस्थाहरुका अप्ठारा र चुनौतीहरु तथा सम्बोधनका लागि सुझावहरु, ०७८ विषयक अध्ययन प्रतिवेदन समेत गभर्नरज्यूसमक्ष बुझाइएको थियो । उक्त प्रतिवेदन ग्रहण गर्दै श्रीमान् गभर्नरज्यूले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त सुझावहरु, वरिष्ठ अर्थविद्, बैंकिङविद्, सरोकारवाला पक्षहरुसँगको व्यापक छलफल तथा परामर्शका आधारमा दक्षिण एसियाली मूलुकहरुको बैंकिङ अवस्था र अभ्यासहरुका विषयमा समेत अध्ययन तथा विश्लेषणका साथ तयार गरिएको उक्त प्रतिवेदन बहुपयोगी हुने विश्वाससहित सिबिफिनलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै, समग्र अर्थतन्त्रको सबलीकरणका लागि सिबिफिनसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको थियो ।

सिबिफिनका अध्यक्ष गोल्यानले बैंक तथा वित्तीय क्षेत्रको सुधार, विकास, विस्तार एवं स्तरोन्नति, संस्थागत हकहित र दिगो आर्थिक विकासमार्फत समृद्ध राष्ट्र निर्माणका लागि सिबिफिनले नियामक निकाय र सरोकारावाला सबै पक्षहरुसँग निरन्तररुपमा सहकार्य सदैव तत्पर रहेको बिषय औल्याउनु भएको थियो ।