सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा लेखलेखन प्रतियोगिताका विजयी पत्रकारहरुलाई पुरस्कार प्रदान

सिबिफिनद्वारा बिजनेस समिटको प्रतिवेदन सार्वजनिक तथा लेखलेखन प्रतियोगिताका विजयी पत्रकारहरुलाई पुरस्कार प्रदान

बैक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममार्फत गत बैशाख २४ गते सम्पन्न नेपाल बिजनेश समिट, २०८० को निष्कर्ष प्रतिवेदनको सार्वजनिक तथा लेखलेखन प्रतियोगिताका विजेता पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।
माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री रमेश रिजालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममार्फत सार्वजनिक गरिएको प्रतिवेदनमा समिटको दौरानमा भएका विषयगत बहस तथा छलफलका निष्कर्ष, पृष्ठपोषण र समिटमा सहभागी सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय पूर्व प्रधानमन्त्रीज्यू, माननीय अर्थ मन्त्रीज्यू, माननीय उद्योग मन्त्रीज्यू, प्रतिनिधि सभाका माननीय सदस्यज्यूहरु, गभर्नरज्यू, सचिवज्यू, विभिन्न संघ÷संस्थाका नेतृत्वगण, दातृ निकायका प्रतिनिधिलगायतबाट व्यक्त सुझाव, प्रतिबद्धता र ऐक्यवद्धताहरु समेत समेटिएको छ ।


त्यसैगरी समिटको पूर्वसन्ध्यामा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को प्रायोजन तथा नेपाल पत्रकार महासंघ एवं नेपाल बिजनेश इन्ष्टिच्यूटको सहकार्यमा आयोजित “वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र” विषयमा आयोजित लेखलेखन प्रतियोगितामा उत्कृष्ट १५ औं स्थानभित्र पर्न सफल लेखहरुका सर्जकलाई माननीय उद्योग मन्त्रीज्यूकै हातबाट नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । प्रतियोगी पत्रकार गौतम रानाभाट, यम विरही दुर्गा प्रसाद अर्याल खेम बेल्वासे र नवराज अधिकारीका लेखहरुले क्रमशः प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ स्थान प्राप्त गर्दै क्रमशः नगद रु. १ लाख, रु.७५ हजार, रु. ५० हजार, रु.२५ हजार र रु.१५ हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल हुनुभएको छ भने थप १० उत्कृष्ट लेखका सर्जक तथा पत्रकारहरु – कमल बहादुर कठायत, अमृता बजगाई, रुपनारायण ढकाल, ममता थापा, अनिष मिजार, दधिराम खतिवडा, लोकबहादुर चापागाई, एलन अधिकारी, हिक्मत बहादुर नेपाली र वेणु प्रसाद अधिकारीले प्रोत्साहनस्वरुप नगद रु. १० हजार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
कार्यक्रमको विषयमा नेपाल बिजनेस इन्ष्टिच्यूटका अध्यक्ष विशाल गैरेले प्रकाश पार्नुभएको थियो । त्यसै क्रममा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले सिबिफिनले आर्थिक पत्रकारहरुलाई हौसला र प्रोत्साहन गर्ने गरी प्रतियोगिता संचालन गरी पुरस्कृत गरेकोमा सिबिफिनप्रति धन्यवाद व्यक्त गर्दै, पत्रकारिता क्षेत्रलाई यसै गरी उत्प्रेरित गरिनुपर्ने बताउनुभयो । त्यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य माननीय डा. रमेशचन्द्र पौडेलले औपचारिक र अनौपचारिक अर्थतन्त्रको विषयमा प्रकाश पार्नुभएको थियो भने त्रिभुवन विश्वविद्यालय, मानविकी संकायकी डिन प्रा.डा. कुशुम शाक्यले देशको अर्थतन्त्रलाई सबल बनाउन हरेक क्षेत्रको सहकार्य र सहयोग अनिवार्य रहेको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा विशेष मन्तव्य राख्दै माननीय उद्योग मन्त्री श्री रमेश रिजालज्यूले उक्त प्रतिवेदनले नेपाल सरकार, मातहतका निकाय र सरोकारवालाहरुलाई सहकार्यसहित अगाडि बढ्न मार्गनिर्देश गरेको जनाउनुभएको छ । त्यसैगरी उहाँले आर्थिक जगतका विविध विषयहरुलाई उजागर गर्दै सरोकारवालालई झकझकाउँदै आउनुभएका पत्रकारहरुलाई सम्मान गर्न पाउँदा गर्वित भएको उल्लेख गर्दै सत्यतथ्य र खोजमूलक पत्रकारितामार्फत राष्ट्र निर्माणको अभियानमा पत्रकार जगतले अझ सशक्तरुपमा कलम चलाउँदै सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।
कार्यक्रममा समापन मन्तव्य राख्दै सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले देशको वर्तमान आर्थिक अवस्था र आर्थिक एवं औधोगिक क्रान्तिका लागि चाल्नुपर्ने कदमहरुका विषयमा धारणाहरु राख्नुभयो । उत्पादनमूलक, निर्यातमूलक, रोजगारमूलक क्षेत्रलाई विशेष प्राथमिकता र प्रोत्साहनसहित उक्त क्षेत्रहरुमा लगानी विस्तार नगरी देश विकास नहुने बताउँदै यसका लागि नेपाल सरकारले उपयुक्त

नीति एवं वातावरणसहित निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने औल्याउनुभयो । नजिकिँदै गरेका महान् चाडवर्पहरुको अवसरमा शुभकामना आदानप्रदान गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको बताउँदै उहाँले विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत, छठलगायतका पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र प्रगतिको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।
सिबिफिनका सचिव कुश प्रसाद मल्लीले संचालन गर्नुभएको उक्त कार्यक्रममा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सिबिफिनका पदाधिकारी तथा सदस्य, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष एवं संचालक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्षलगायत विभिन्न संघ÷संस्थाका नेतृत्वगण तथा प्रतिनिधी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

– सिबिफिन सचिवालय
आश्विन २६, २०८०