सिबिफिनका पदाधिकारीहरु र पूर्व अर्थमन्त्री तथा माननीय श्री सुरेन्द्र पाण्डेवीच भेटघाट तथा छलफल

सिबिफिनका पदाधिकारीहरु र पूर्व अर्थमन्त्री तथा माननीय श्री सुरेन्द्र  पाण्डेवीच भेटघाट तथा छलफल

काठमाडौं । माघ ७– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का पदाधिकारीहरु र र प्रतिनिधि सभाका माननीय सदस्य एवं पूर्व अर्थमन्त्री श्री सुरेन्द्र पाण्डेज्यूवीच आज मिति २०७८ माघ ७ गते, शुक्रवारका दिन सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल भएको छ ।
आर्थिक एवं वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा सहकार्य, दिगो आर्थिक एवं वित्तीय क्षेत्रको विकास, कृषि क्षेत्रको व्यवसायीकरण, उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तार, उत्पादन एवं रोजगारीमा वृद्धि तथा आयात प्रतिस्थापन गर्ने लगानीका आधार निर्माण गर्दै आत्मनिर्भर एवं सुदृढ अर्थतन्त्र र समुन्नत राष्ट्र निर्माणमा सहकार्य गर्ने विषयमा वृहत छलफल भएको छ ।
करिब २ घण्टासम्म चलेको उक्त भेटघाट तथा छलफलका क्रममा सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले आर्थिक समृद्धिका साझा विषयहरुमा पूर्व अर्थमन्त्रीज्यूहरुको समुहसँग सहकार्य गरी अगाडि बढ्न सिबिफिन तयार रहेको कुरा राख्नुभयो ।
त्यसैगरी पूर्व अर्थमन्त्री तथा माननीय श्री सुरेन्द्र पाण्डेले सहकार्य गर्ने विषय सकारात्मक रहेको र यस विषयमा पूर्व अर्थमन्त्रीज्यूहरुसँग आवश्यक समन्वय गर्ने र सिबिफिनसँग थप छलफल गरी अगाडि बढ्ने कुरा बताउनुभयो । प्रतिनिधि सभाका माननीय सदस्य तथा पूर्व अर्थमन्त्री श्री सुरेन्द्र पाण्डेलाई सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता श्री भोजबहादुर शाह, उपाध्यक्ष श्री राजेश उपाध्यक्ष, महासचिव श्री केशवबहादुर रायमाझी, सचिव श्री कुशप्रसाद मल्ली र महानिर्देशक श्री गोपालप्रसाद तिवारीसहितको प्रतिनिधि मण्डलले स्वागत तथा सम्मान गर्नुभएको थियो ।