विदेशी लगानी भित्र्याउन गरिएको सहज व्यवस्थाप्रति सीबीफीनको स्वागत

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले विदेशी लगानी भित्र्याउन गरेको सहज व्यवस्थाको स्वागत गरेको छ । नयाँ व्यवस्थाले विदेशी लगानी नेपाल भित्र्याउन सहज हुने भन्दै सीबीफीनले स्वागत गरेको हो ।

नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा विदेशी लगानी सम्बन्धी गरिएको व्यवस्था सकारात्मक रहेको ठहरसहित सो व्यवस्थाको स्वागत गर्दै नेपाल राष्ट्र बैंकप्रति हार्दिक आभार व्यक्त गर्दछौं,’ सीबीफीनले विज्ञप्ति जारी गर्दै भनेको छ ।

 

परिसंघले विगतदेखि नै विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृति पाएको अवस्थामा राष्ट्र बैंकको पूर्व स्वीकृति आवश्यक नपर्ने व्यवस्था गर्नुपर्छ धारणा राखिरहेको थियो । परिसंघले गत असार २८ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र गत पुस १९ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर यस्तो व्यवस्था गर्न सुझाव दिएको थियो ।

 

आफूहरुले पेश गरेको सुझाव सम्बोधन भइ नीतिगतरुपमा व्यवस्था भएकोले नेपालमा विदेशी लगानी ल्याउन सहज हुने र देशले अहिले भोगिरहेको लगानी अभावको समस्या सम्बोधन हुने अपेक्षा सीबीफीनको छ ।

 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण र सन्त्रासका कारण विश्व अर्थतन्त्रमा नै मन्दी आइरहेकोे छ । विश्वका धेरै देशले कोभिड विरुद्धको खोप लगाउन थालिएसकेका छन् । नेपालले पनि कोभिड विरुद्धको खोप लगाउन थालेको छ । कोभिड विरुद्धको खोप लगाउन थालेपछि आर्थिक क्रियाकलापले गति लिने कुरामा दुईमत छैन । तर, आर्थिक गतिविधि बढाउनको लागि ठूलो मात्रामा लगानीको आवश्यकता पर्छ । नेपाल सरकारले लिएको दीर्घकालिन सोच र चालु १५औं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य पूरा गर्नको लागि पनि ठूलो परिमाणमा लगानी परिचालन गर्नुपर्ने आवश्यकता देखिएको सीबीफीनको भनाई छ ।

 

कोभिड महामारी पछि विश्वका धेरै देशले लगानी आकर्षित गर्न विभिन्न प्रकारका योजना र राहत कार्यक्रमहरु संचालन गरिरहेको सन्दर्भमा नेपाल जस्तो देशले पनि बैदेशिक लगानी आकर्षित गर्न सहज लगानी मैत्री नीतिगत व्यवस्था र वातावरण सृजना गर्नु अत्यावश्क रहेको भन्दै सीबीफीनले राष्ट्र बैंक र अर्थमन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।

 

‘राष्ट्र बैंकले विदेशी लगानी ल्याउनको लागि गरेको नयाँ नीतिगत व्यवस्थाले विदेशी लगानी आकर्षित हुने, विभिन्न पूर्वाधारमा लगानी भइ आर्थिक क्रियाकलाप बढ्ने, रोजगारी सिर्जना हुने र समग्रमा दिगो आर्थिक बृद्धि तथा विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने आम नेपालीको राष्ट्रिय अभियानमा ठोस योगदान पुग्नेमा आशाबादी छौं,’ सीबीफीनका बरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता भोजबहादुर शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।