वर्तमान आर्थिक अवस्था र आगामी बजेट विषयक वृहत आर्थिक बहस कार्यक्रम सम्पन्न

वर्तमान आर्थिक अवस्था र आगामी बजेट विषयक वृहत आर्थिक बहस कार्यक्रम सम्पन्न

चैत्र १५, काठमाडौं । कोभिड–१९ को महामारी, तरलता अभाव र विश्वव्यापीरुपमा बढेको चरम महंगीबाट आक्रान्त बनिरहेको नेपालको अर्थतन्त्र र आगामी आर्थिक बर्षको लागि तर्जुमा भइरहेको बजेटका सन्दर्भमा नेपाल आर्थिक संघ (NEA), बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) र अर्थ मन्त्रालय (MoF) ले संयुक्तरुपमा आयोजना गरेको वृहत आर्थिक बहस कार्यक्रम सम्पन्न भएको छ ।
 माननीय अर्थमन्त्री श्री जनार्दन शर्माको प्रमुख आतिथ्यता गर्नुभएको उक्त कार्यक्रममा वरिष्ठ अर्थविद्, प्राध्यापक, नेपाल सरकार अर्थ मन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंठकका उच्च पदस्थ अधिकारी, बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा संचालक, अग्रणी उद्योग–व्यवसायी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।नेपाल आर्थिक संघका महासचिव श्री गोपाल प्रसाद तिवारीले संचालन गर्नुभएको उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष डा. भवानी ढुंगानाले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्य र आवश्यकतामाथि प्रकाश पार्दै बजेट निर्माण भइरहेको सन्दर्भमा आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयहरुमा गहन सुझावहरु आउने र प्राप्त सुझावहरुका आधारमा सबैले अपनत्व महशुस गर्ने किसिमको बजेट आउने अपेक्षा व्यक्त गर्नुभयो । संघका अध्यक्ष प्रा.डा. विश्वम्भर प्याकुरेलले देशको वर्तमान आर्थिक अवस्थाको चिरफार गर्दै नेपालको अर्थतन्त्रमा खतराको घण्टी बजिरहेको बताउनुभयो । अर्थतन्त्रको पुनरुत्थान र मानवीय जीवनको सुरक्षा नै अहिलेको मुख्य विषय बनेको बताउँदै वहाँले भन्नुभयो, “कोभिड, तरलता अभाव र महंगीका कारण बजार आकाशिदै गएको र जनजीवन असहज बन्दै गरेको वर्तमान अवस्थामा बजेट निर्माणमा अर्थ मन्त्रालय गंभिर बन्नुपर्दछ ।” बढदो महंगी, बेरोजगारी, गरिबी, असन्तुलित विकास, पुँजी पलायन, बजेट घाटा जस्ता विषयहरुमा आगामी बजेटले विशेष सम्बोधन गर्नुपर्ने बताउनुभयो । संघले नीतिगत अध्ययन गरी तयार गर्दै गरेका विविध सुझावहरु केही दिनमै अर्थमन्त्रालयलाई बुझाउने पनि जानकारी गराउनुभयो ।
त्यसैगरी वरिष्ठ अर्थविद् केशव आचार्यले नेपालको अर्थतन्त्रमा समस्या आउनुको कारण कमजोर पूँजीगत खर्च प्रणाली रहेको बताउनुभयो । संघका उपाध्यक्ष प्रा.डा. गोविन्द नेपालले नेपालको अर्थतन्त्रको सुधारको निम्ति नीतिगत र प्रणालीगत भष्ट्राचारमा शून्य सहनशिलता अपनाउन आग्रह गर्नुभयो ।
अर्थविद् डा. पोषराज पाण्डेले अर्थ मन्त्रालयको कार्यप्रति कटाक्ष गर्दै भन्नुभयो, “अर्थ मन्त्रालय सच्चा अर्थ मन्त्रालय जस्तो भएन । गरिब र निमुखा जनताबाट राजस्व उठाउने र केवल भोट किन्ने काम मात्र ग¥यो ।”
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष श्री पवनकुमार गोल्यानले आगामी बजेटले युवा तथा महिला, घरेलु, साना तथा मझौला उद्योमी तथा किसानहरुलाई केन्द्रमा राखेर बजेट ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गर्नुभयो । अर्थतन्त्र गंभिर मोडमा रहेकोले आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादन र उद्योगहरुको अभिवृद्धि, रोजगारी तथा उत्पादनमा विशेष जोड दिँदै बजेट आउनुपर्ने वहाँको भनाइ थियो ।
उपस्थिति सहभागीहरुबाट व्यक्त विचारहरुलाई सम्बोधन गर्दै माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले हरेक क्षेत्रले अपनत्व महशुस गर्नेगरी बजेट निर्माण गर्नका लागि तार्किक सुझावहरु आउन भनेर नै कार्यक्रम आयोजना गरिएको हुँदा व्यक्त गरिएका विचार, सुझाव र जानकारीहरुलाई आफूले मनन गरेको बताउनुभयो । वहाँले भन्नुभयो, “तपाइँहरुले दिएको सल्लाह÷विज्ञता र मेरो अनुभव एवं क्षमताको मिश्रणबाट नै बजेट सान्दर्भिक बन्नेछ ।” आगामी बजेट बाझो खेत, बेरोजगार युवा तथा महिला, गरिबी, पछौटेपन, किसानतिर फर्किने बताउँदै नेपाल स्रोत साधनमा सम्पन्न भएतापनि स्रोत साधनको उचित परिचालन, व्यवस्थापन र उपयोगको राष्ट्रिय अभियान आवश्यक रहेको औल्याउनुभयो । कार्यक्रमको अन्तमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहले कार्यक्रममा उपस्थित भइ महत्वपूर्ण सुझावहरु प्रदान गर्नुहुने र व्यक्त सुझावहरुलाई धैर्यतापूर्वक ग्रहण गरिदिनुहुन माननीय मन्त्री, सचिवलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दै रोजगारी एवं उत्पादनमा वृद्धि, नयाँ उद्यमी तथा उद्यमशिलताको विकास एवं विस्तार, लगानी प्रवद्र्धन जस्ता विषयहरुमा सरोकारावाला पक्षहरुसँग सहकार्य गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा परिसंघ निरन्तररुपमा लागि पर्ने बताउनुभयो ।