मौद्रिक नीतिमा बुझाएका सुझावहरुको जानकारी सहित सिबिफिनद्वारा अध्ययन प्रतिवेदन सार्वजनिक

मौद्रिक नीतिमा बुझाएका सुझावहरुको जानकारी सहित सिबिफिनद्वारा अध्ययन प्रतिवेदन सार्वजनिक

असार २३, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी मौद्रिक नीति, ०७९/८० को विषयमा नेपाल राष्ट्र बैंकमा बुझाएको सुझावहरु र विप्रेषण तथा बैकिङ क्षेत्रबाट प्रवाह हुने कर्जाले व्यापार घाटामा परेको प्रभाव विषयक अध्ययन प्रतिवेदन  एलफ्ट होटल, काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा सहभागी सिबिफिनका पदाधिकारी तथा पत्रकारहरुलाई स्वागत गर्दै सिबिफिन वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले कार्यक्रम आयोजना गर्नुको औचित्य र आवश्यकतामाथि प्रकाश पार्नुभयो । वहाँले अर्थतन्त्रका महत्वपूर्ण आँकडाहरू ऋणात्मक दिशातर्फ उन्मूख हुँदै गर्दाको समयदेखि नै सिबिफिनले सान्दर्भिक विषयहरुमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र सरोकारवाला पक्षहरुहरुसँग छलफल, बहस र अन्तरसंवाद गर्दै आर्थिक क्षेत्रका विभिन्न विषयहरुमा विभिन्न विश्वविद्यालय र विषयविज्ञहरुसँगको सहकार्यमा अध्ययन तथा अनुसन्धान गरी सुझावसहितका प्रतिवेदनहरु सम्बन्धित निकायहरुमा पेश गरी ध्यानाकर्षण गराउँदै आएको जानकारी गराउनुभयो । वहाँले अर्थतन्त्रमा देखापरिरहेका समग्र समस्या एवं चुनौतिहरुको न्यूनिकरण तथा समाधानका लागि आमरुपमा जाग्नुपर्ने बेला पनि आएकोले संचारजगतमार्फत संस्थागत सुझावहरु र अध्ययन प्रतिवेदनका निष्कर्षहरुको महत्व र आवश्यकताका विषयमा आमरुपमा जानकारी गराउन पत्रकार सम्मेलन गरिएको बताउनुभयो ।

उक्त पत्रकार सम्मेलनको अध्यक्षता गर्नुभएका सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विगत केही समयदेखि नै अर्थतन्त्रका महत्वपूर्ण सुचकहरु ऋणात्मक दिशातर्फ उन्मूख हुँदै गएको विषय औल्याउनुभयो । सरकार, नियामक निकाय र सरोकारवाला सबै सचेत हुँदै खस्किदै गएको अर्थव्यवस्थाको सुधारका लागि एकाकार भइ लाग्नुपर्नेमा अध्यक्ष गोल्यानको विशेष जोड रहेको थियो । वहाँले बिप्रेषण आप्रवाहमा भइरहेको कमी, चुलिँदै गएको आयात, र उत्पादकत्व वृद्धि एवं नेपाली उत्पादनको उपयोगमा गरिएको उपेक्षाले देशको आर्थिक अवस्था जर्जर बन्दै गएको बताउदै, मूल्य अभिवृद्धि गर्ने उद्योग तथा क्षेत्रलाई सरकार, बैंकिङ क्षेत्र र अन्य सरोबारवाला क्षेत्रले प्राथमिकता दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाहरुले पनि उत्पादनमूलक क्षेत्रमा सहुलियतपूर्ण व्याजदर कर्जा प्रवाह गर्न सक्ने वातावरणसहितको मौद्रिक नीति आउनुपर्ने बताउनुभयो ।

पत्रकारहरुले राखेका जिज्ञासाहरुवारे समेत जानकारी दिँदै अध्यक्ष गोल्यानले सय रुपियाँ विप्रेषण आयो भने १०४ रुपियाँ उपभोगमा खर्च गर्ने बानीमा सुधार गर्नुपर्ने बताउँदै घरेलु तथा साना उद्योगले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रियस्तरमा बजार राम्रो भए पनि त्यसको प्रशोधन, बजारीकरण र ढुवानी व्यवस्थित गर्न नसकिएको बताउनुभयो । जनशक्ति निर्यात गर्दै आफ्ना खेतबारी बाँझो राखेर र आयात गरेर खाने प्रवृतिले देश नबन्ने र सेवा उद्योगमा लगानी केन्द्रीत हुने नीतिले देशको अर्थतन्त्र फस्टाउन नसक्ने वहाँको भनाइ थियो । वहाँले समस्या बताएर मात्र होइन, अव समाधानतर्फ सम्बन्धित निकायहरु र सरोकारवाला पक्षहरु एकजुट भएर लाग्न, उत्पादनमुखी क्षेत्रमा लगानी विस्तार गर्न र नेपाली उत्पादनको उपभोग गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा जुट्न आग्रह समेत गर्नुभयो ।

त्यसैगरी सिविफिन कार्यसमितिका सदस्य उपेन्द्र पौडेलले सशस्त्र द्धन्द्धकालमा समेत आर्थिक संकटको सामना नगरेको नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाको जस्तो नभएको भएतापनि सतर्क हुनुपर्ने बेला आएको बताउँदै बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादनमा केन्द्रीत हुनुपर्ने बेला भने आएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक तथा डा. रमेशचन्द्र पौडेलले पत्रकारहरुले राखेका प्रतिवेदनसँग सम्बन्धित जिज्ञासावारे धारणा राख्दै मानिसहरुमा बचत गर्ने बानीको विकास नगर्दा र उपयोगमा रमाउने प्रवृत्तिमा नियन्त्रण नगर्दा अहिले समस्या देखिएको बताउनुभयो । वहाँले रेमिटान्सको रकम संचिती गर्ने र उत्पादनमूलक उद्योग तथा क्षेत्रमा लगानी गर्ने आकर्षणसहितका नीति अख्तियार गर्न नियामक निकायहरुलाई सुझाउनुभयो ।

कार्यक्रमको अन्ततिर पत्रकार सम्मेलनमा उपस्थित सम्पूर्ण संचार माध्यम तथा सचारकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दै सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले सिबिफिनसँग सहकार्य गरी अध्ययन तथा प्रतिवेदन तयारीको नेतृत्व गर्नुहुने त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापाक डा. रमेशचन्द्र पौडेललाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको समापन गर्दै उपाध्यक्ष उपाध्यायले विदेशबाट आएको रकम विदेशी वस्तुकै आयातमा विदेशिएकोले नेपाली उत्पादनहरुको अभिवृद्धि र उपभोग गरी आयात घटाउन, उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्न, सरकारको साधारण खर्चमा व्यापक कटौती गरी पूँजीगत खर्च बढाउन र वर्तमान आर्थिक अवस्थाको सुक्ष्म मूल्याङ्कन गरी सरोकारवालाहरुले सुझाएका सुझावहरुको यथोचित सम्बोधन गर्न नियामक निकायहरुलाई आग्रह गर्नुभयो ।

सिबिफिनका महानिर्देशक गोपाल प्रसाद तिवारीले संचालन गर्नुभएको उक्त पत्रकार सम्मेलनमा विभिन्न ५० संचारमाध्यमहरुबाट ७० भन्दा बढि संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसै विषयमा विभिन्न संचार माध्यमहरुमा प्रकाशित थप समाचारहरु पढ्नको लागि तलका लिंकहरुमा क्लिक गर्नुहोस्…..

  1. ekantipur
  2. thekathmandupost
  3. gorkhapatraonline
  4. ehimalayantimes
  5. nagariknews
  6. myrepublica
  7. nayapatrikadaily
  8. annapurnapost
  9. karobardaily
  10. onlinekhabar
  11. setopati
  12. corporatenepal
  13. sunakharinews
  14. ktmvoice
  15. bikashnews
  16. lokaantar
  17. bizmandu
  18. arthadabali
  19. arthasarokar
  20. singhadarbar
  21. ratopati
  22. ekagaj
  23. nepalipaisa