बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, चुनौति र आगामी कार्यदिशाका विषयमा छलफल

बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, चुनौति र आगामी कार्यदिशाका विषयमा छलफल

काठमाडौं  असार १,२०७९ ।  नेपालको बैंक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, चुनौति र आगामी कार्यदिशामा केन्द्रित रहेर विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रम मिति २०७९ असार १ गते, बुधवार, ताहाचल, काठमाडौंस्थित ह्यात प्लेस होटलमा सम्पन्न भएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत भएको बजेट र नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि तर्जुमा गर्दै गरेको मौद्रिक नीतिलाई मध्यनजर गर्दै आयोजित यस कार्यक्रममा वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरुका अध्यक्ष तथा संचालकहरु गरी करिब ५५ भन्दा बढिको सघन उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम सिबिफिनले आयोजना गरेको थियो ।

कार्यक्रममा सहभागी सम्पूर्ण अध्यक्ष तथा संचालकहरुलाई स्वागत गर्दै सिबिफिनका वरिष्ठ उपाध्यक्ष श्री भोजबहादुर शाहले देशको अर्थतन्त्रमा चरम दबाव परिरहेको वर्तमान अवस्थामा प्रस्तुत भएको बजेट र बजेटमा भएका व्यवस्थाहरुको कार्यान्वयन तथा लक्ष्य प्राप्तिका लागि राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गरिरहेको सन्दर्भमा आयोजित यस कार्यक्रमको महत्व, औचित्य र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो । वहाँले स्वस्थ प्रतिस्पर्धा र आपसी समन्वय, सहकार्य र सहयोग आदानप्रदान गर्नुपर्नेमा जोड दिँदै सहभागी विद्धत वर्गबाट अमूल्य रायसुझाव प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा सिबिफिनको प्रार्दुभाव, उद्देश्य र यस संस्थाले सम्पादन गरिरहेका महत्वपूर्ण कार्यहरु तथा प्राप्त संस्थागत उपलब्धीहरु समेटिएको जानकारीमूलक संक्षिप्त कार्यपत्र सिबिफिनका महानिर्देशक श्री गोपाल प्रसाद तिवारीले प्रस्तुत गर्नुभएको थियो ।

बैंक तथा वित्तीय क्षेत्रमा कायम गर्नुपर्ने संस्थागत सुशासन तथा सुधारका विषयमा सिबिफिनमार्फत तयार गरिएको अध्ययन प्रतिवेदन बैकिङविज्ञ श्री बिएन घर्तीले प्रस्तुत गर्नुभएको थियो । सिबिफिनले उक्त अध्ययन प्रतिवेदन बनाइ प्रस्तुत गर्नुको औचित्य तथा आवश्यकतामाथि प्रकाश पार्दै सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले वर्तमान अवस्थाको मूल्याङ्कन गर्दा आगामी दिन झन जटिल र भयावह हुन सक्ने
संकेत गर्दै समग्र बैंक तथा वित्तीय क्षेत्रको सुरक्षित भविष्यका लागि सजग र सचेत भइ बैंक तथा वित्तीय क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका, अपनाउनुपर्ने संयमता र कायम गर्नुपर्ने स्वशासनका विषयहरु औल्याउँदै यस क्षेत्रको सुधार र उन्नयनका लागि एकाकार भइ अगाडि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो ।

त्यसैगरी संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्ने विषयमा बैंक तथा वित्तीय संस्था ऐन, ०७३ को दफा ११ को उपदफा ४ मा भएको व्यवस्था, त्यसको कानुनी स्पष्टता, कार्यान्वयनको सन्दर्भमा नेपाल राष्ट्र बैंकद्वारा गरिएको परिभाषा तथा व्याख्या, कार्यान्वयनका जटिल पक्षहरु र विकल्प जस्ता विषयमा अध्ययनसहित सिबिफिनकै पहलमा तयार गरिएको अध्ययन प्रतिवेदन अधिवक्ता श्री प्रवीण सुवेदीले
प्रस्तुत गर्नुभएको थियो । उक्त विषयमा थप सहजीकरण गर्दै सिबिफिनका कार्यकारिणी सदस्य तथा वरिष्ठ अधिवक्ता श्री उपेन्द्रकेशरी न्यौपानेले संस्थागत शेयर रुपान्तरण गर्ने व्यवस्थाको कानुनी अर्थ, मर्म र कार्यान्वयनका विषयमा प्रष्ट पार्नुभएको थियो ।

सिबिफिनले सम्पादन गर्दै आएका गतिविधि, उठान गरेका जायज विषयहरु र समस्या समाधानका लागि गरेका पहलहरुको प्रसंशा र हार्दिक धन्यवाद ज्ञापन गर्दै आ–आफ्ना धारणा तथा रायसुझावहरु राख्नुभएको थियो । त्यसैगरी प्रस्तुत कार्यपत्रहरु अत्यन्तै सान्दर्भिक भएकोले सिबिफिनको नेतृत्वलाई अबिचलित भइ लाग्न उत्प्रेरित गर्दै हरप्रकारको साथ र सहयोग रहने र बैंकिङ क्षेत्रको सुधार तथा उन्नयनका लागि एकबद्ध भइ अगाडि बढ्ने प्रतिबद्धता समेत सहभागीहरुले व्यक्त गर्नुभएको थियो ।

सिबिफिनका महासचिव श्री केशवबहादुर रायमाझीले संचालन गर्नुभएको उक्त कार्यक्रमको अन्तमा अध्यक्ष गोल्यानले कार्यक्रममा उपस्थित भइ अमूल्य रायसुझाव र हौसला प्रदान गर्नुहुने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा संचालकहरुलाई विशेष धन्यवाद व्यक्त गर्दै, सिबिफिनले आगामी दिनमा आयोजना गर्ने यस्तै कार्यक्रमहरुमा सबैको भौतिक एवं नैतिक साथ, सहयोग र सहकार्यका लागि आग्रह गर्दै आफ्नो विशेष सत्कारमा आयोजित रात्रीभोजमा सरिक हुन सम्पूर्ण अध्यक्ष तथा संचालकहरुलाई अनुरोध गर्नुभएको थियो ।