नेपाल बैंकर्स एसोसिएसन्(NBA) को नेतृत्वलाई सम्मान तथा छलफल बैंठक सम्पन्न

नेपाल बैंकर्स एसोसिएसन्(NBA) को नेतृत्वलाई सम्मान तथा छलफल बैंठक सम्पन्न

काठमाडौं । माघ १९– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल बैंकर्स एसोसिएसनको ३५ औं साधारण सभाबाट सर्वसम्म्मतरुपमा चयन भएको नवनिर्वाचित कार्यसमितिका अध्यक्षसहितको टोलीलाई मिति २०७८ माघ १९ गतेका दिन सिबिफिनको कार्यालय, सुन्धारामा सम्मानसहित बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सिबिफिनको निमन्त्रणामा पाल्नुभएका एनबिएका नवनिर्वाचित अध्यक्ष श्री अनिलकुमार उपाध्याय, उपाध्यक्ष श्री सुनिल के.सी. र एनबिएका कार्यकारी निर्देशक श्री अनिल शर्मालाई सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता श्री भोजबहादुर शाह, उपाध्यक्ष श्री राजेश उपाध्याय, महासचिव श्री केशवबहादुर रायमाझीलगायतको टोलीले खादा ओढाइ सम्मान तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको हो ।

सोही अवसरमा सिबिफिन कार्यदलले तयार गरेको तरलता अभाव सम्बन्धी अध्ययन प्रतिवेदनमाथि सिबिफिन र एनबिएका पदाधिकारीहरुवीच छलफल समेत गरिएको थियो ।

अध्ययन कार्यदलका सदस्य श्री बालनरसिंह घर्तीबाट अध्ययन प्रतिवेदनको सारसंक्षेप प्रस्तुत भएपछि बोल्दै सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले भन्नुभयो “करिब उस्तै किसिमका उद्देश्य र कार्यक्षेत्र बनाएर स्थापना भएतापनि सिबिफिन र एनबिएले गर्ने कार्यहरु फरक–फरक रहेको तर समग्र बैंकिङ क्षेत्रसहित राष्ट्रको सर्वाङ्गिण विकासका लागि यी दुवै संस्था एकआपसमा हातेमालो र सहकार्य गर्दै अगाडि बढ्नुपर्दछ” । हाल गहिरिदो संकटकारुपमा देखापरेको तरलता अभावको कारण र समाधानका उपायहरु विषयमा सिबिफिनले तयार गरेको अध्ययन प्रतिवेदनले औल्याएका विषयवस्तुहरुमा एनबिएको राय एवं सुझावका लागि आग्रह गर्नुभयो ।

त्यसैगरी सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहले आफ्ना राय व्यक्त गर्दै भन्नुभयो, “पटकपटक उत्पन्न भइरहने समस्याकोरुपमा देखापरेको तरलता अभावको समाधानका लागि विशेषतः स्वदेशी उत्पादनको उपयोगमा प्रोत्साहन, आवश्यकताका आधारमा आयातमा कडाइ, उत्पादन तथा रोजगारमूलक उद्योगहरुमा लगानी प्रवद्र्धन गर्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा जोड दिनुपर्दछ र यसका लागि सिबिफिन र एनबिएले संयुक्तरुपमा पहल गर्नु जरुरी छ” ।

अध्ययन प्रतिवेदनको विषयमा बोल्दै एनबिएका अध्यक्ष अनिल कुमार उपाध्यायले प्रतिवेदनले समग्रता धेरै विषयवस्तुहरु समेटेको र एनबिएले समेत यस विषयमा अध्ययन गरिरहेको बताउनुभयो । यसै बैंठकमा व्यक्त रायलाई नै सुझावकोरुपमा ग्रहण गरिदिन आग्रह गर्नुभयो । त्यसैगरी एनबिएका उपाध्यक्ष श्री सुनिल के.सी.ले तरलता अभाव हुनुमा नियामक निकायका कतिपय नीति र स्वयं बैंक तथा वित्तीय संस्थाहरुको स्वअनुशासन पनि जिम्मेवार रहेकोले यस्ता नीतिगत विषयमा सिबिफिनले नियामक निकायसँग विशेष पहल गर्नुपर्ने राय व्यक्त गर्नुभयो ।

सिबिफिनका महासचिव श्री केशवबहादुर रायमाझीले संचालन गर्नुभएको उक्त सम्मान तथा छलफल बैंठकको विसर्जन गर्दै अध्यक्ष गोल्यानज्यूले सशरिर तथा जुममार्फत सहभागी भै महत्वपूर्ण रायसुझाव व्यक्त गर्नुहुने सबैप्रति आभार व्यक्त गर्नुभयो ।