तरलता अभाव सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

तरलता अभाव सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

२३ माघ, काठमाडौं । नेपालमा संचालित बैंक तथा वित्तीय संस्थाहरुले विगत केही वर्षदेखि पटकपटक तरलता अभावको समस्या उत्पन्न भइरहेको र यसले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर गरिरहेको विषयलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले तरलता अभावको समस्या उत्पन्न हुनुका कारण र समाधानका उपायहरुका विषयमा सिबिफिनका कार्यकारिणी सदस्य तथा नविल बैंकका अध्ययन श्री उपेन्द्रप्रसाद पौडेलको संयोजकत्वमा वरिष्ठ अर्थविद् तथा बैंकिङविद्को सहभागितामा अध्ययन कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले तरलता अभाव सम्बन्धी विगतका तथ्य एवं जानकारीहरु, दक्षिण एसियाली मुलूकहरुको प्रसङ्ग र विश्व वित्तीय संकटलाई समेत मध्यनजर गर्दै वृहत अध्ययन तथा विश्लेषणका साथ सम्बद्ध पक्षहरुसँगसमेत व्यापक छलफल चलाउँदै तयार गरेको सुझावसहितको अध्ययन प्रतिवेदन मिति २०७८ माघ २० गतेका दिन नेपाल राष्ट्र बैंकसमक्ष पेश गरी मिति २०७८ माघ २३ गते ठमेलस्थित एलफ्ट होटलमा वृहत पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको थियो ।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित उक्त पत्रकार सम्मेलनमा कार्यदलका संयोजक श्री उपेन्द्रप्रसाद पौडेलले अध्ययन प्रतिवेदन तयार गर्दा अपनाइएका प्रक्रिया, विधि र विषयवस्तुहरुमाथि प्रकाश पार्नुभयो ।
त्यसैगरी अध्ययन कार्यदलका सदस्य तथा बैंकिङ विज्ञ श्री बालनरसिंह घर्तीले प्रतिवेदनका मुख्य विषयवस्तुहरुवारे डिजिटल प्रविधिबाट प्रस्तुत गरी सप्रसंग व्याख्या गर्नुभएको थियो । त्यसैगरी कार्यदलका सदस्य तथा त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका सह–प्राध्यापक डा. रमेशचन्द्र पौडेलले तरलता अभावको समस्या समाधानका दीर्घकालीन उपायहरुका थप विषयमा आफ्ना धारणाहरु राख्नुभयो ।
त्यसैगरी अध्यक्ष श्री पवनकुमार गोल्यानले तरलता अभाव सृजना हुनुमा नियामक निकायदेखि बैंक तथा वित्तीय संस्थाहरु पनि जिम्मेवार रहेको र समस्या समाधानका लागि समेत सम्बद्ध सम्पूर्ण सरोकारवाला पक्षहरुले सामूहिक प्रयास र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रको मात्र नभइ राष्ट्रको सर्वाङ्गिण विकासका लागि समेत संस्थागत जिम्मेवारी बोध गरी अगाडि बढिरहेको विषय बताउनुभयो । गुणस्तरीय एवं सर्वसुलभ बैंकिङ सेवासहित वित्तीय साक्षरता, बैंकिङ पहुँचको विस्तार, लगानी प्रर्वद्धन, व्यवसायिक कृषिको विकास, युवा तथा महिला उद्यमीहरुको उत्पादन जस्ता विषयहरुमा सिबिफिले कार्य गर्दै आएको बताउनुभयो । अध्ययन प्रतिवेदन नीतिगत विषयमा निर्णय लिन उपयोगी सिद्ध हुने अपेक्षा व्यक्त गर्दै सम्प्रेषण गरिदिन उपस्थित सम्पूर्ण पत्रकारहरुलाई विशेष आग्रह गर्नुभयो ।
सिबिफिनका महासचिव श्री केशवबहादुर रायमाझीले संचालन गर्नुभएको उक्त सम्मेलनमा वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहले स्वागत मन्तव्य राख्दै तरलता अभावको समस्या सृजना हुुनु मुख्यतयाः आयात र निर्यातवीचको असन्तुलन भएको बताउँदै आत्मनिर्भर र निर्यातमूखी अर्थतन्त्रको निर्माणका लागि उत्पादन एवं रोजगारमूलक क्षेत्रहरुमा लगानी विस्तार गर्नुपर्ने बताउनुभयो । स्वदेशी उत्पादनको उपयोगमा जोड दिँदै आत्मनिर्भर भइसकेका र आत्मनिर्भरउन्मूख वस्तु तथा क्षेत्रको आवश्यकता हेरी आयातमा थप कडाइ गरिनुपर्ने वहाँको भनाइ थियो ।

सिबिफिनका पदाधिकारी तथा सदस्य र ४५ भन्दा बढि संचार माध्यमहरुबाट ५५ भन्दा बढि वरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको उक्त सम्मेलनमा पत्रकारहरुले राखेका विभिन्न जिज्ञासाहरुको जवाफ अध्यक्ष गोल्यान र कार्यदलका संयोजक तथा सदस्यहरुले दिनुभएको थियो ।