डा. विवेक विन्द्रको कार्यक्रम संचालनका लागि सिबिफिन र जिनिअस इन्साइडरवीच समझदारी

काठमाडौं । फाल्गुण २८– विश्वविख्यात मोटिभेसनल स्पिकर तथा नेतृत्व विकासका प्रशिक्षक डा. विवेक बिन्द्राको उत्प्रेरक कार्यक्रम आगामी बैंशाख ११ गतेका दिन संचालन गर्ने गरी सिबिफिन र जिनिअस इन्साइडर प्रा.लीवीच समझदारी सम्पन्न भएको छ । सिबिफिनका महानिर्देशक श्री गोपाल प्रसाद तिवारी र जिनिअस इन्साइडर प्रा.ली. का अध्यक्ष डा. राहुल सरावगीले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
गत माघ ७ गते सम्पन्न गर्ने गरी सिबिफिन र जिनिअस इन्साइरवीच यस अघि नै समझदारी गरिएको भएतापनि तत्कालिन समयमा कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत जारी स्वास्थ्य सम्बन्धी मापदण्डलाई संवेदनशीलरुपमा लिँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।
कोभिड–१९ को माहामारी, तरलता अभावलगायतका समस्याहरुबाट संकटग्रस्त बनेका उद्यम तथा व्यवसायहरुको पुनरोत्थान, नयाँ उद्यम तथा व्यवसायको संचालन र दीर्घकालिन रुपमा प्रगतिको पथमा कसरी लैजाने भन्ने विषयहरुको महत्व वर्तमान अवस्थामा अझ बढी आवश्यक, उपयोगी एवं लाभदायी हुने देखिएकोले कार्यक्रम पुनः संचालन गर्न लागिएको हो ।
‘एक्स्क्लुसिभ लिडरशिप’ नामक उक्त कार्यक्रम जिनियस इन्साइडर, बैंक तथा वित्तीय संघ नेपाल (सिबिफिन) र ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपको संयुक्त आयोजनामा काठमाडौं, ताहाचलस्थित ह्यात प्लेस होटलमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले भन्नुभयो, “यो कार्यक्रम व्यवस्थापकीय कौशलता, नेतृत्व विकास, व्यावसायिक रणनीतिहरुको अवलम्बन र नेतृत्व एवं निर्णय लिने क्षमता विकाससँग सम्बन्धित विषयमा केन्द्रित रहने छ र व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक आशा, उत्साह, उत्प्रेरणा र हौसला मिल्नेछ ।”
यस कार्यक्रमबाट प्राप्त हुने ज्ञान, सीप र कलाले नेपाली व्यवसायी र व्यवसायहरुको विकास एवं विस्तार गर्न महत्वपूर्ण सहयोग पुग्ने आयोजक जिनियस इन्साइडरका अध्यक्ष डा. राहुल सरावागीले बताउनुभयो ।
कार्यक्रम संचालनका लागि अभिभावकिय भूमिका निर्वाह गर्नुभएका सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहले वित्तीय क्षेत्रमा देखा परेको तरलता अभाव, आर्थिक मन्दी, व्यवसायिक सुस्तता जस्ता समस्याहरुको न्यूनिकरणका लागि थप ऊर्जा मिल्ने र मनोवल उच्च हुने बताउनुभयो ।
एक दिने यस प्रशिक्षणमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सहकारी, स्कूल, कलेज, उद्योग, व्यवसायका अध्यक्ष, संचालक तथा उच्च पदस्थ अधिकारीहरु सहभागी हुन सक्नेछन् ।