क, ख ग वर्गका बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित अध्ययन प्रतिवेदन सार्वजनिक

क, ख ग वर्गका बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित अध्ययन प्रतिवेदन सार्वजनिक

पौष १६, काठमाडौं । नेपालमा संचालित क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको अवस्था, भूमिका, कार्यक्षेत्र योगदान, समस्या एवं चुनौतीहरुसहित दक्षिण एसियाली मूलुकहरुले अपनाएको बैंकिङ अभ्यास तथा अवस्थाका विषयमा अध्ययन तथा अनुसन्धान गर्नको लागि सिबिफिन कार्यसमितिका उपाध्यक्ष श्री राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको सुझावसहितको अध्ययन प्रतिवेदन, मिति २०७८ पौष १६ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरियो ।
नेपालको आधुनिक बैंकिङ विकास, बैंक तथा वित्तीय संस्थाहरुको भूमिका, योगदान र औचित्य, बैंक तथा वित्तीय क्षेत्रले व्यहोरेका समस्या एवं चूनौति र समाधानका लागि विविध सुझावहरु समेटिएको उक्त प्रतिवेदन सार्वजनिक गर्दै सिबिफिनका अध्यक्ष श्री पवनकुमार गोल्यानले वरिष्ठ अर्थविद्, बैंकिङविद् तथा सरोकारावाला पक्षहरुसँगको छलफल र परामर्श तयार यस अध्ययन प्रतिवेदन बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत निर्णय लिन सहयोगी र उपयोगी हुने सावित हुने बताउनुभयो । वहाँले भन्नुभयो, “समग्र बैंक तथा वित्तीय क्षेत्रको विकास, एवं सुधार, अर्थतन्त्रको सवलीकरण, समग्र पेशा एवं व्यवसायसहित आम जनजीविकाको स्तरोन्नति गर्ने विषयमा सिबिफिनले ध्यान केन्द्रित गरिरहेको छ । र, सिबिफिन समग्र अर्थतन्त्रको स्तरोन्नति र राष्ट्र निर्माणको अभियानमा सहयोगी बनेर भूमिका खेलिरहने छ । त्यसैले आदरणीय पत्रकारज्यूहरुले सिबिफिनले समग्र राष्ट्रको हितका खातिर उठान गरेका विषयहरुलाई यहाँहरुको प्रतिष्ठित संचारमाध्यमहरुबाट थप महत्वका साथ प्रकाशन र प्रसारण गरी नियामक निकायहरुको ध्यानाकर्षण गर्न गराउन सहयोग गर्नुहुनेछ ।”

सिबिफनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहले सिबिफिन एक सेवामूलक संस्था भएकोले देश र जनताको समृद्धिका विषयलाई विशेष महत्वका साथ अगाडि बढाएको, रोजगार एवं उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै नयाँ उद्यमी एवं उद्यमशीलताका विकाससँगै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने दिशामा सिबिफिन केन्द्रित रहेको बताउनुभएको थियो ।
अध्ययन कार्यदलका संयोजक श्री राजेश उपाध्यायले अध्ययन प्रतिवेदन तयारीमा अपनाइएका विविध पक्षहरुमाथि प्रकाश पार्दै यस अध्ययन प्रतिवेदनले नेपालको बैंकिङ क्षेत्रका विविध जानकारीसहित विगतदेखि देखिएका समस्या र समस्या समाधानका विषयमा व्यवहारिक सुझावहरु समेटेको बताउनुभयो ।

कार्यदलका सदस्य तथा बैंकिङ विज्ञ श्री बालनरसिंह घर्तीले प्रतिवेदनका मुख्य विषयबस्तुहरु प्रस्तुत गर्दै बैंक तथा वित्तीय क्षेत्रको योगदान, आवश्यकता र समस्याहरुको समाधानका लागि प्रतिवेदनमार्फत सुझाइएका विषयवस्तुहरुमाथि प्रकाश पार्र्नुभएको थियो ।

सिबिफिनका महासचिव श्री केशवबहादुर रायमाझीबाट संचालित उक्त पत्रकार सम्मेलनमा सिबिफिनका उपाध्यक्ष श्री राजेश उपाध्याय, सचिव श्री कुशप्रसाद मल्ली, सदस्यहरु श्री उपेन्द्रप्रसाद पौडेल, श्री दशरथ रिसाल, श्री महेन्द्रकुमार गोयल, प्रा.डा. हिरेन्द्रमान प्रधान, कार्यदलका सदस्य तथा बैंकिङविद् श्री बालनरसिंह घर्ती र सिबिफिनका महानिर्देशक श्री गोपालप्रसाद तिवारीको उपस्थिति रहेको थियो ।
विभिन्न संचारमाध्यमहरुबाट ३० जना वरिष्ठ पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुको दिगो संचालन र प्रवद्र्धनका विषयमा विशेष छलफल भएको थियो ।