सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी विषयक कार्याशाला गोष्ठी

सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी विषयक कार्याशाला गोष्ठी

त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागको आयोजना, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) तथा विश्वविद्यालय अनुदान आयोग, नेपालको आर्थिक सहयोगमा मिति २०७८ आश्विन ५ गते, मंगलवारका दिन काठमाडौं, गैह्रीधारास्थित एलिस रिसेप्सन्समा सरकारको पूँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैंदेशिक लगानी विषयक एकदिने कार्याशाला गोष्ठी सम्पन्न भयो ।

 

प्रमुख अतिथि माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा ज्यूले समुद्घाटन गर्नुभएको उक्त कार्यक्रमको सभापतित्व विश्वविद्यालय अनुदान आायोग, नेपालका अध्यक्ष प्रा.डा. भिमप्रसाद सुवेदीज्यूले गर्नुभएको थियो । यस कार्यक्रममा अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा सुरेन्द्र उप्रेती, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु प्रा.डा. पुष्पराज कंडेल, प्रा.डा. विश्वम्भर प्याकुरेल, प्रा.डा. गोविन्दराज पोखरेल, वरिष्ठ अर्थशास्त्री प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना, प्रा.डा. गोविन्द नेपाल, पूर्व अर्थसचिव श्री कृष्णहरी बास्कोटा, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष श्री पवनकुमार गोल्यान, वरिष्ठ उपाध्यक्ष श्री भोजबहादुर शाह, नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष श्री सुमित केडियालगायत अर्थशास्त्र केन्द्रीय विभागका मूर्धन्य प्राध्यापक डाक्टर, वरिष्ठअर्थविद्, बैंक तथा बित्तीय संस्थाका अध्यक्ष÷संचालक, वरिष्ठ पत्रकारहरुको सघन उपस्थिति रहेको थियो ।

नेपाल सरकारको पूँजीगत खर्च व्यवस्थापन तथा नेपालमा बैदेशिक लगानीको विगत र वर्तमान अवस्थाको यथार्थ तथ्यांक, जानकारी तथा मूल्याङकनसहित अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले नेपालमा बैदेशिक लगानी विषयमा र डा.रमेशचन्द्र पौडेलले सरकारको पूँजीगत खर्च व्यवस्थापनको विषयमा अलग–अलग कार्यपत्र प्रस्तुत गर्नुभयो । उक्त कार्यपत्रहरुमाथि वरिष्ठ अर्थविद् तथा योजना आयोगका पूर्व उपाध्यक्षहरु, पूर्व अर्थसचिव तथा राष्ट्र बैंकका कार्यकारी निर्देशकले टिप्पणी गर्दै कार्यपत्रहरुले उजागर गरेका पूँजीगत खर्च र बैदेशिक लगानी सम्बन्धी नेपाल सरकारको गरेका व्यवस्था र अवस्थामा गंभिर चिन्तन गर्नुपर्ने विषय भएको कुरा औल्याउदै विषयगत व्यवधानहरुको वारेमा नेपाल सरकारले सुधार गर्नुपर्ने नीतिगत विषयहरु र व्यवहारिक पक्षहरुमा आफ्ना अनुभव, धारणा तथा सुझावहरु राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि माननीय अर्थ मन्त्री श्री जनार्दन शर्माज्यूले समग्र विकास रणनीति स्पष्ट नभएकोले पूँजीगत बजेट खर्च कसरी गर्ने भन्ने चूनौति रहेको वताउनुभयो । मन्त्रालयहरुले सबै अधिकार आफैसँग राख्ने प्रवृति सुधार गर्दै खर्च नहुने विषय र ठाउँको बजेट खर्च हुने ठाँउमा स्थानान्तरण गर्ने पाउने गरी बजेट हेरफेर गर्न दिनुपर्ने औल्याउनुभयो । बजेट कार्यान्वयनका लागि सम्पूर्ण मन्त्रालयहरुले प्रत्यायोजित बजेटको मासिक १० प्रतिशतका दरले कार्यान्वयन गर्नुपर्ने नीतिगत व्यवस्था गर्न अर्थमन्त्रालयले तयारी गरिरहेको विषय जानकारी गराउनुभयो । राष्ट्र र जनताको हितलाई ध्यानमा राखी बैदेशिक लगानी खुला गर्नुपर्ने बताउनुभयो । समृद्ध राष्ट्र निर्माणमा सहयोग पुग्ने गरी आयोजित यस कार्यक्रम निरन्तर आयोजना गर्न अर्थ मन्त्रालयको समेत आवश्यक सहयोग रहने बताउँदै माननीय मन्त्रीज्यूले सम्बन्धित विषयहरुमा नीतिगत सुधारका लागि ठोसरुपमा पृष्ठपोषण हुने अपेक्षा व्यक्त गर्दै आयोजक र प्रायोजक संस्थाहरुलाई धन्यवाद दिनुभयो ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष श्री पवनकुमार गोल्यानले देश र जनताको हितमा हुनेगरी बैदेशिक लगानी भित्र्याउन प्रक्रियागत भन्झटता हटाइ नीतिगत सहजता हुनुपर्ने बताउनुभयो । त्यसैगरी डेरी एसोसिएनका अध्यक्ष श्री सुमित केडियाले स्वदेशी लगानीमार्फत नै आत्मनिर्भर हुँदै गएका क्षेत्रमा बैदेशिक लगानी भित्र्याउन नहुने र आन्तरिक लगानीलाई प्रोत्साहित गरिनुपर्ने विचार व्यक्त गर्नुभयो ।सामूहिकरुपमा गरिएको छलफलका आधारमा कार्यपत्रमाथि सहभागीहरुले उठाएका विभिन्न सवालहरुका विषयमा सम्बोधन गर्दै कार्यपत्र प्रस्तोताहरुले प्राप्त सुझावहरु समेटी कार्यपत्रलाई थप परिस्कृत गर्ने जानकारी गराउनुभयोे ।समग्र कार्यक्रममा व्यक्त विचार र नेपाल सरकारका धारणाका विषयहरुमाथि प्रकाश पार्दै अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले नीतिगतरुपमा भएका कमजोरीहरुलाई सुधार गरी जनअपेक्षा अनुसार सरकार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल सरकारको पूँजीगत खर्च व्यवस्थापन तथा बैदेशिक लगानीको विषयमा वस्तुनिष्ठ चिरफार गरी सुधारका लागि अबलम्बन गर्नुपर्ने नीतिगत एवं व्यवहारिक विषयबस्तुहरुमाथि केन्द्रित यो गोष्ठी समयानुकुल तवरले अत्यन्तै सान्दर्भिक र आवश्यक भएको औल्याउदै कार्यक्रमका सभापति प्रा.डा. भिमप्रसाद सुवेदीले यस कार्यक्रममा सहभागी भइ महत्वपूर्ण कार्यपत्र पेश गर्नुहुने, विचार राख्नुहुने र विशेष चासोका साथ उपस्थित भइ कार्यक्रमको ओज बढाइदिनुहुने सम्पूर्ण अतिथि, आयोजक एवं प्रायोजक गर्ने संस्थाहरुलाई विशेष धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभयो ।